पाँच दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन,आज फेरि बस्ने

असोज १९,रोल्पा ।  सिट बाँडफाँटको टुंगो लगाउन भन्दै गएराति अबेरसम्म बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै ४ घण्टा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकी टुंगिएको हो। बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटमा आफ्नो पार्टीलाई चेपुवामा पारिएको बताएपछि अन्तिम टुंगो लगाउने भनिएको बैठक निष्कर्षमा पुग्न सकेन।

प्रतिनिधिसभामा जसपालाई १२ सिट जति दिने गरी कुरा मिलाउने गठबन्धनको तयारी रहे पनि जसपा अध्यक्ष यादवले मधेस प्रदेशमा मात्रै प्रतिनिधिसभा तर्फका १५ सिट आफूहरुलाई दिनुपर्ने अडान राखेका छन्।

जसपासहित अन्य दलमा पनि सिट बाँडफाँटमा असन्तुष्टि रहेकोले गएरातिको बैठकमा कुरा मिल्न नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयाे ।

उहाले कांग्रेसभित्रै पनि असन्तुष्टि धेरै रहेको र अन्य दलको पनि माग सम्बोधन गर्नुपर्ने बाध्यतामा आफूहरु रहेको बताउनुभयाे।

पौडेलका अनुसार गठबन्धनका शीर्ष नेताहरु आज दिउँसो ३ बजे पुनः बैठकमा जुट्ने भएका छन्।

असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका रहेकाले आज भोलिभित्र जसरी पनि सिट बाँडफाँट टुंगो लगाउनुपर्ने दबाब गठबन्धनलाई छ।

सिट बाँडफाँटको टुंगो लागिसकेपछि गठबन्धनका दलहरुले आफ्नो भागमा परेका सिटको टिकट वितरण सुरु गर्नेछन्।

Previous Post Next Post