आर.एन नेटवर्क, भदौ २७ रोल्पा । चर्चीत लोक तथा दोहोरी गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कोषाध्यक्ष सञ्चारकर्मी अमृत अधिकारीले सामाजिक पीर वेदना समेटिएको“मनको शान्ती” बोलको गीत बजारमा ल्याउनुभएको छ ।
“दाइको ससुराली गाउँ” बोलको गीतले सफलता पाएको झण्डै २ दशकपछि अधिकारीले लोकप्रीय गायक रामचन्द्र चन्दसँगको सहकार्यमा सामाजिक घटना तथा परिघटना समेटेर तयार पारिएको मनको शान्ति बोलको गीतलाई भिडियोमार्फत प्रस्तुत गर्नुभएको हो ।
गीतमा दैनिक जीवनयापनका क्रममा मनमा उत्पन्न हुने समस्या, तनाव र पीरलाई कसरी शान्ति दिलाउने भन्ने कुरा विषेश रुपमा उठाइएको अधिकारीले बताउनुभएको छ । यससँगै गीतमा पछिल्लो समय समाजमा व्याप्त आर्थीक मन्दीको प्रभाव, सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरिदिएपछि पीडित बनेका सर्वसाधरणको वेदनादेखि एकल महिला र वृद्धाश्रममा जान बाध्य वृद्धवृद्धाहरुको समस्यासँगै आम जनतामा उत्पन्न विक्षिप्ततालाई टपक्कै टिपेर गीतमा उतारिएको छ ।
‘धनले किन्न पाउने भा धन हालेर किन्थे, शान्ती खोज्दै बुद्ध किन महल छोडी हिन्थे’ जस्ता मार्मिक शब्दहरु समेटिएको उक्त गीतको भिडियोमा कार्यालयमा उत्पन्न बढ्दो तनाव र घट्दो सेयर बजारले थपेको प्रेसरसँगसँगै आर्थीक असहजताले पारिवारिक झमेलाले ग्रसित पुरुषको व्यथा चर्चीत मोडल विमल अधिकारीको अभिनयमार्फत उतारिएको छ भने दिनभर मकै पोलेर परिवारको गर्जो टारेकी महिलाले आफूले खाए नखाइ गरेर सहकारीमा बचत गरेको रकम सहकारी संस्था नै बचत हिनामिना गरेर भागेपछि पीडित बनेकी महिलाको कथा पनि भिडियोमा देख्न सकिन्छ ।
त्यस्तै परिवारबाट छोराबुहारीको हेलामा परेर वृद्धाआश्रम जान बाध्य बनेका वृद्धको कथा वरिष्ठ कलाकार रामचन्द्र अधिकारीले अभिनयमार्फत प्रस्तुत गर्नुभएको छ भने परिवारमा एकल महिलालाई सासुबाट हुने अपहेलनाको कथालाई यशु भट्टराईले अभिनयमार्फत उतार्नु भएको छ ।
गीतमा अधिकारीसँगै पछिल्लो समयकी चर्चीत तथा लोकप्रिय गायिका शान्ती श्री परियार र रामचन्द्र चन्द तथा सुनिता बुढा क्षत्रीले स्वर रहेको छ भने विक्रम बाबु विश्वकर्माको शव्द र नन्दु परियारको लयमा गीत तयार पारिएको छ ।
भिडियोमा पछिल्लो समयका चर्चीत गीतहरुमा निर्देशन गर्नुभएका निर्देशक मौसम हिमालीको निर्देशनसँगै गायक अधिकारी, मोडल बिमल अधिकारी, बरिष्ठ कलाकार रामचन्द्र अधिकारी, जुना गुरुङ्ग, यशु भट्टराईलगाएतको अभिनय देख्न सकिन्छ । गीतले सिंगो देशमा कायम विद्यमान समस्या उजागर गरेकोले आम दर्शक श्रोताको मनमुटुमा बस्न सफल हुने विश्वास लिइएको गायक अधिकारीले बताउनुभएको छ । उक्त “मनको शान्ती” बोलको गीत अमृत अधिकारीको आधिकारिक युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
रेडियो पश्चिमाञ्चलबाट सञ्चारयात्रा शुरु गर्नुभएका गायक अमृत अधिकारीले रेडियो आँधीखोलामा स्टेशन म्यानेजरको रुपमा काम गरिसक्नुभएको छ । रेडियो आँधीखोलाको उत्कृष्ट व्यवस्थापन गर्दै अनवरत सञ्चारयात्रामा रहनुभएका गायक अधिकारी २०७० सालमा पुनः काठमाडौं प्रवेश गर्नुभयो ।
काठमाडौंमा रहँदा रेडियो उपत्यकामा स्टेशन म्यानेजर हुँदै नेपालवाणी नेटवर्कमा प्रशासन प्रमुख बन्नुभयो । गायक अधिकारीले २०७३ सालमा नेपाली रेडियो नेटवर्कको स्थापना गरी प्रबन्ध निर्देशकको भूमिकामा रहँदै नेटवर्कलाई मुलुककै उत्कृष्ट बनाउन सफल व्यवस्थापकका रुपमा काम गर्दै आउनुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति पाल्पाको संस्थापक सचिव हुँदै अध्यक्ष बनुञ्जेल त्यहाँको व्यवस्थापन उत्कृष्ट रहेको उहाँ निकटस्थहरु बताउँछन् । पछिल्लो समय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य हुँदै कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ । प्रतिष्ठानमा अधिकारीको प्रवेशपछि लेखा व्यवस्थापनदेखि सबै क्षेत्रमा सुधार हुँदै गएको धेरैले बताउने गरेका छन्।
(भिडियो हेर्नुहोस्)