राजेश नेपाली नेटवर्क,१० भाद्र । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमालेलाई हराएर नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन लागिपरेकालाई वामपन्थी मान्न नसकिने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल वामपन्थी नभएर कांग्रेसपन्थी भएको आरोप लगाउनुभयो ।
यस्तै ज्ञवालीले वाम कस्लाई भन्ने कांग्रेसलाई जिताउन लागिपरेकालाई भन्ने की आफ्नो सिद्धान्ततहःअस्तित्वमा रहेको दललाई मान्ने भन्दै प्रश्नसमेत गर्नुभएको छ । कांग्रेसलाई पहिलो बनाएर जाने र त्यसैको निगाहमा केहि सिटहरु लिएर सत्तामा रहने पुष्प कमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको घोषित मिसन नै रहेकाले त्यसलाई वामपन्थी भनेर मान्न नहुने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेससँग मिलेर एमालेलाई हराउन लाग्नेलाई वामपन्थी भन्न सकिँदैन । प्रचण्ड, माधव नेपालहरु वामपन्थी होइन कांग्रेसपन्थी हुन् ।’
यस्तै उपाध्यक्ष ज्ञवालीले एमाले एक्लै लड्न सक्षम भएकाले सत्ता गठबन्धनको सामना सहजै गर्न सक्ने दाबी समेत गर्नुभयो ।
गठबन्धनभन्दा बाहिर रहेका दलहरुले आफना मुद्दा र प्राथमिकताहरुमा सहमती जनाउछन् भने कतिपय आंशिक ठाउँमा तालमेल हुन पनि सक्ने तर मुख्य रुपमा एमालेले एक्लै गठबन्धनको सामना गर्ने स्पष्ट पार्नुभयो ।
यस्तै ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजे बस्ने छ। आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरेका एजेण्डामाथि छलफल गर्नेछ ।
हिजो बसेको पोलिटब्युरो बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारी, उम्मेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका ११ एजेण्डा तय गरेको छ । त्यस्तै सङ्गठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेण्डा पनि तय गरेको छ ।
यी एजेण्डामाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ । साथै मनोनीत केन्द्रीय सदस्यहरुले आजै शपथ लिने तयारी पनि छ । बैठकले गएको वैशाखमा भएको पालिका चुनावको पनि समीक्षा गर्ने छ ।