राजेश नेपाली नेटवर्क,११ भाद्र । गएको जेठ अन्तिम हप्ता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौँडा र खुर्सानीबारीमा गएको पहिराेका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिना बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।
सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौँडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडक खण्डअन्तर्गत हलेगौँडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारीमा पहिराेले सडक बगाएपछि सिङ्गो भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको हो ।
पहिराेले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण बाटो प्रयोग गर्न बाध्य भएको स्थानीय शेरबहादुर घर्तीले बताउनुभयो । गएको वर्ष ढलानसहित सडक पहिराेले बगाएपछि वैकल्पिक मार्ग हुँदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो ।
पहिरोले हलेगौँडासहित आसपासका क्षेत्रका बस्ती समेत जोखिममा परेका छन् । भकिम्ली हुँदै छिमेकी बाग्लुङको काठेखोला र तारा खोला गाउँपालिकाका बासिन्दाले समेत आवतजावत गर्ने गरेका छन् । भकिम्ली जाने वैकल्पिक सडकअन्तर्गत ज्यामरुककोट, बेनी–थामडाँडा सडक खण्डअन्तर्गत राखु र मरेक हुँदै आवतजावत गर्न सकिन्छ ।
भकिम्ली जोड्ने हलेगौँडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ । स्थानीय बासिन्दाले तत्काल सडक मर्मत वा सहज अर्को वैकल्पिक बाटोको खोजी गरी आवतजावतलाई सहज बनाउन माग गरेका छन् ।