Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

नेपालमा खेलकुद विश्वविद्यालय खाेलिनेछ : प्रधानमन्त्री देउवा

रोल्पा, ३१ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गर्नुभएको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुवात गर्ने योजना बनाएको बताउनुभयो ।  


शुक्रवार नवाैँ राष्ट्रिय खेलकुदकाे ट्रफी सार्वजनिक गर्दै प्रधानमन्त्री, खेलकुद मन्त्रीलगायत


उहाँले भन्नुभयो, ‘नेपाल खेलकुदप्रति धेरै नै अघि छ । हामीले अझै ख्याति कमाउन बाँकी नै छ । मन्त्रीज्यूले त मलाई खेलकुद विश्वविद्यालय खोल्नुपर्छ भन्नुभएको छ । हामी छिटै नै खेलकुद विश्वविद्यालय खोल्न लाग्नेछौँ । तर अहिले कोभिड लगायतका धेरै कारणले गर्दा राष्ट्रिय आर्थिक अवस्था राम्रो छैन । तर पनि सुरुवात गर्ने हाम्रो सोचाइ छ । त्यसले पनि खेलकुदमा भोलि युवाहरूको आकर्षण बढ्नेछ भन्ने विश्वास लिएको छु ।’ 

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । झन्डै १० लाख रुपैयाँमा राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायीरूपमा ट्रफी आफूसँग राख्न पाउनेछ । नवौँ राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्‍याइनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवम् दक्षिण एसियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा पाँच सदस्यीय ट्रफी टुर कार्यदल गठन गरेको छ । कार्यदलमा क्रिकेटका पूर्वकप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष एवम् साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य हुनुहुन्छ । 

ट्रफी आज सुदूरपश्चिम पठाइने र शनिवार बिहान ८ बजे धनगढी रङ्गशालामा सार्वजनिक गर्ने, असोज २ गते लुम्बिनी प्रदेशको एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजे, असोज ३ गते बाग्मती प्रदेशकाे हेटौँडामा रहेकाे मानसचोकमा बिहान ८ बजे, नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा असोज ७ गते बिहान १० बजे सार्वजनिक गरिने छ । यस्तै प्रदेश १ को विराटनगर रङ्गशालामा असोज ८ गते, नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्सालमा असोज ९ गते, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा असोज ९ गते, कर्णाली प्रदेशको सुर्खेत रङ्गशालाकाे सेमी कभर्डहलमा असोज ११ गते, मधेस प्रदेशको रामजानकी मन्दिरको परिसरमा असोज १३ गते र गण्डकी प्रदेशमा असोज २३ गते सार्वजनिक गर्ने कार्यक्रम छ । गण्डकी प्रदेशमा भने पोखरा विमानस्थलबाट बाजागाजा र झाँकीसहित ट्रफी पोखरा पुर्‍याइनेछ ।