कार दुर्घटनामा टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्रीको ज्यान गयाे

राजेश नेपाली, नेटवर्क, १९ भाद्र । भारतको चर्चित व्यापारिक घराना टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्रीको कार दुर्घटनामा ज्यान गएको छ ।

आज आइतवार अहमदाबादबाट मुम्बई जाँदै गर्दा मिस्त्री चढेको मर्सिडिज कार सडकको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको भारतीय प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । दिउँसो सूर्य नदीको पुलमा भएको दुर्घटनामा मिस्त्रीको घटनास्थलमै ज्यान गएको हो । कारमा उहाँसँग रहेका चालकसहित दुई जनाको अहमदाबादको एक अस्पतालमा उपचार भइरहेको छ ।


राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) की सांसद सुप्रिया सुलेले ट्विटरमा लेख्नुभएको छ, ‘अत्यन्तै दुःखद खबर । मेरा भाइ साइरस मिस्त्रीको निधन भएको छ । विश्वास गर्न सकिरहेको छैन । आत्माले शान्ति पाओस् साइरस ।’ आरपीजी इन्टरप्राइजेजका अध्यक्ष हर्ष गोयन्काले पनि मिस्त्रीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । ‘साइरस मिस्त्रीको दुर्घटनामा निधन भएको खबर सुन्दा निकै दुःख लागेको छ । उहाँ एक मित्र, एक सज्जन मानिस हुनुहुन्थ्यो’, उहाँले भन्नुभएकाे छ ।

साइरसले विश्वव्यापी निर्माण कम्पनी शापूर्जी पालोनजीको निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्दै टाटा समूहको सक्षम नेतृत्व गर्नुभएको थियो । टाटा सन्सका छैटौँ अध्यक्ष मिस्त्रीलाई सन् २०१६ को अक्टोबरमा पदबाट हटाइएको थियो । सन् २०१२ को डिसेम्बरमा रतन टाटाले सन्यासको घोषणा गरेपछि उहाँले अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । 

Previous Post Next Post