एमालेले बनायाे चुनाव परिचालन सचिवालय, सचिवमा विष्णु रिमाल

राजेश नेपाली नेटवर्क,१२ भाद्र । नेकपा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि गठित चार सय ५१ सदस्यीय कमिटीका संयोजक एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय च्यासलमा भएको बैठकले सचिवालय गठन गरेको हो । 

यस कमिटीको सचिवको जिम्मेवारी पार्टीका उपमहासचिव विष्णु रिमाललाई तोकिएको छ । एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकले देशव्यापी निर्वाचन कमिटी गठन गरेर चुनाव केन्द्रित गतिविधि अघि बढाउने निर्णय गरेको छ ।

 
परिचालन कमिटीमा पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, जनसङ्गठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरू रहेका छन् । 
    
एमालेको शनिवार सम्पन्न केन्द्रीय कमिटीको चौथो बैठकले निर्वाचन परिचालन कमिटी गठन गर्नेलगायत पार्टीको सचिवालयले गरेको निर्णय अनुमोदान गरेको थियो । एमालेले अध्यक्ष ओलीकै संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति पनि गठन गरेको छ । 

Previous Post Next Post