माघ महिनामा २० हजारभन्दा धेरैले लिए अनलाइनबाट पुनः श्रम स्वीकृति

राजेश नेपाली नेटवर्क, फागुन १। गएको माघ महिनामा २० हजारभन्दा धेरैले अनलाइनबाट श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्रै  कार्यालयमा उपस्थित नभई ४९ देशबाट २० हजार १८३ जनाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिएका हुन् । अनलाइनबाट श्रम स्वीकृति लिनेमा वैदेशिक रोजगारीमा रहेका ९ सय ८८ जना महिला र १९ हजार १९५ जना पुरुष रहेका छन् ।



यसरी अनलाइनबाटै सेवा लिनेमा सबैभन्दा धेरै कतारबाट रहेका छन् । कतारबाट एक महिनाको अवधिमा ७ हजार २०२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । कतारपछि सेवा लिनेको सङ्ख्या साउदीबाट धेरै छ ।

साउदीबाट ५ हजार १९७ जना पुरुष र ३८ जना महिला गरी ५ हजार २३५ जनाले अनलाइनबाटै पुनः श्रम स्वीकृति सेवा लिएका छन् । कतारपछि श्रम गन्तव्य देश यूएईबाट अनलाइनमार्फत श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै छ । यूएईबाट ४ हजार ८५२ जना अनलाइनबाट पुनः श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

खाडीकै देश कुवेतबाट एक हजार २५ जनाले, ओमानबाट ३०१ जनाले र मलेसियाबाट ५०५ जनाले अनलाइन पुनः श्रम स्वीकृति लिएका छन् ।

श्रम कार्यालय ताहाचलले गएको माघदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति प्रदान गरिरहेको छ । भौतिक रूपमा उपस्थित भएर पुनः श्रम स्वीकृति लिन पाइँदैन ।

बायोमेट्रिक नभएकाहरूको हकमा मात्र अहिले विभागले भौतिक उपस्थितिमा अनलाइन पुनः श्रम स्वीकृति प्रदान गरिरहेको छ । अनलाइनबाटै श्रम स्वीकृतिका लागि तिर्न पर्ने बिमा र कल्याणकारी कोषमा तिर्न पर्ने रकम तिर्न मिल्छ । 

Post a Comment

0 Comments