राजेश नेपाली, नेटवर्क, २१ भाद्र । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले आगामी संघ र प्रदेशको निर्वाचनमा महिलाहरूलाई धेरैभन्दा धेरै प्रत्यक्षतर्फ उम्मेदवारी दिलाउन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
मंगलवार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले डेंगु देशभर फैलिएकाले महामारी हुन नदिनका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने, किटनाशक औषधि छर्कने र सचेतना जगाउने काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘डेंगुको सङ्क्रमण अहिले ७५ जिल्लामा फैलिएको छ । यो महामारी हुनबाट रोक्न तीन तहका सरकारको ध्यान किन गएको छैन ? लामखुट्टेको लार्भा नष्ट गर्ने, किटनाशक औषधी छर्कने र सचेतना जगाउने कार्य यथाशीघ्र होस् भनी ध्यानाकर्षण गराउन चाहन्छु ।’
त्यस्तै, राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले सरकारी विद्यालयमा कार्यरत लेखापालहरूको सेवा, सुविधा र पारिश्रमिक उनीहरूको तह अनुसार मिलाउनका लागि सरकारसँग माग गर्नुभयो। उहाँले शिक्षा क्षेत्रको विकृति र विसङ्गतिको अन्त्य गर्न तत्काल संघीय शिक्षा ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यता राष्ट्रिय सभा सदस्य नन्दा चपाईँले सवारी साधनहरू अव्यवस्थित रूपमा रहेको भन्दै सवारी साधनको व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यसका निम्ति आवश्यक कानुन निर्माण गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।