जलजला क्याम्पसबाट स्ववियु सभापतिमा विश्वकर्मा सर्वसम्मत निर्वाचित

खुमबहादुर सुनार, आर.एन नेटवर्क, चैत १२ रोल्पा  । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत रोल्पा जिल्लाको जलजला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। विभिन्न विद्यार्थी संगठनहरूबीच आपसी सहमतिमा उम्मेदवारी दर्ता गरिएकाले सम्पूर्ण पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन्।

चुनाव नतिजाअनुसार, अखिल (क्रान्तिकारी) का सुमन विश्वकर्मा सभापति पदमा निर्वाचित भएका छन्। त्यसैगरी, नेपाली विद्यार्थी संघ (नेविसंघ) का गणेश खड्का सचिव पदमा तथा अखिल (समाजवादी) का मिलन सेन कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्।

अन्य निर्वाचित सदस्यहरूमा, अखिल छैठौंकी उषा विष्ट र प्राज्ञिक विद्यार्थी परिषद्का पदम बहादुर थापा रहेका छन्। समानुपातिक तर्फ भरत बाँठा मगर (अनेरास्ववियू) र प्रकाश घर्ती मगर (अनेरास्ववियू समाजवादी) निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतका अनुसार, प्रत्येक पदमा एकमात्र उम्मेदवारी परेकाले निर्वाचन प्रतिस्पर्धाबिहीन रह्यो। सहमति अनुसार सभापति पदमा अखिल (क्रान्तिकारी), सचिवमा नेविसंघ, र उपसभापतिमा अनेरास्ववियूले जिम्मेवारी लिने निर्णय गरिएको थियो।

नव-निर्वाचित पदाधिकारीहरूले विद्यार्थीका समस्या समाधान गर्न र शैक्षिक सुधारका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन हुनु विद्यार्थी एकताको सकारात्मक संकेत भएको भन्दै विभिन्न संगठनहरूले खुसी व्यक्त गरेका छन्।

Previous Post Next Post