राजेश नेपाली नेटवर्क, माघ १० । राष्ट्रिय सभा निर्वाचनका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । १२ माघमा तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि ४८ घण्टा अगावै मौन अवधि सुरु भएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने छ ।
मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालमार्फत पनि मत माग्न र निर्वाचन प्रचार गर्न बन्द गरिएको छ । प्रवक्ता पौडेलका अनुसार उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि प्रतिबन्ध लगाइएको छ ।
निर्वाचन मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ । १९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आगामी २० फागुनमा एमालेका ८, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ ।
सातै प्रदेशमा कुल २ हजार २५ मतदाता छन् । आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले र हरियो रंगको मतपत्र प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् । स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।
0 Comments