राजेश नेपाली नेटवर्क, माघ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ । बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । निवर्तमान अध्यक्ष कमल थापाले मंगलबार पार्टी परित्यागको घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । बैठकमा पार्टीमा पछिल्लो समय देखा परेको विवादका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने जनाइएको छ ।
समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने बैठकमा देशभर संगठनका राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालनसम्बन्धी आवश्यक कार्ययोजनामा समेत छलफल हुने छ । पार्टीमा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २४ गरी ३१ पदाधिकारी छन् ।
गत मङ्सिरमा एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित नयाँ कार्य समितिले पूर्वाग्रही भएर पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गरेको, निर्वाचनमा भएको बाह्य हस्तक्षेपको छानविन गर्न समिति गठन नगरेकोलगायत विषयलाई लिएर असन्तुष्टि व्यक्त गर्दै पूर्वअध्यक्ष थापाले पार्टी परित्याग गर्नुभएको हो ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आसन्न स्थानीय तहको निर्वाचनको विषयमा समेत छलफल हुने पवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।