राजेश नेपाली नेटवर्क, फागुन १४। सोलुखुम्बुको लुक्लामा एक वर्षभित्र कार्गो ढुवानीमार्फत १ हजार ३ सय टन खाद्यान्न तथा निर्माण सामग्री भित्रिएको छ । सन् २०२१ मा फाप्लु र काठमाण्डौबाट १३ लाख किलो सामग्री कार्गोमार्फत लुक्ला ढुवानी भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।
ढुवानी गरिएको सामग्रीहरुमा तरकारी, चामल, दाल लगायतका खाद्यान्नसहित निर्माण सामग्रीहरु जस्ता, सिमेन्ट, काठ लगायत रहेको प्राधिकरणका कर्मचारी विक्रम सिंह बस्नेतले जानकारी दिनुभयो ।
सन् २०२० मा १३ लाख ६५ हजार ९ सय १५ किलो सामग्री खुम्बु ढुवानी भएको प्राधिकरणको तथ्याङ्क छ । गएकाे दुई वर्षको ढुवानीलाई तुलना गर्दा २०२० मा भन्दा २०२१ मा ४ प्रतिशतले कार्गो ढुवानीमा गिरावट आएको छ ।
सन् २०२० को मध्यबाट कोभिड सुरु भए पनि २०२१ को सुरुवातदेखि नै कोभिडले सिजन ठप्प हुँदा ढुवानी तथा खपतमा कमी आएको स्थानीयले बताएका छन् । खुम्बुमा तरकारीसहितका खाद्यान्न र निर्माण सामग्री ढुवानीका लागि हेलिकप्टरकाे प्रयोग गर्ने गरिएको छ ।
लुक्लासम्म सिधा सडक सञ्जालले नजोडिएका कारण खुम्बुमा सामग्री ढुवानीका लागि कार्गोलाई भरपर्दो माध्यमको रुपमा लिइने गरिन्छ । लुक्लाभन्दा तल काँडे थामडाँडासम्म मात्रै सडक सञ्जाल पुगेकाले त्यहाँबाट ढुवानी गर्न मानिसले बोक्नुपर्ने झन्झटका कारण हेलिकप्टर वा विमानकोे भर पर्दै आएको स्थानीयले बताएका छन् ।
Social Plugin