राजेश नेपाली नेटवर्क,१६ आषाढ । विपदका विभिन्न घटनामा परी एकै दिन ८ जनाको मृत्यु भएको छ । ती मध्ये ७ जनाको चट्याङ लागेर मृत्यु भएको हो भने एक जनाको सर्पले टोक्दा मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ चट्याङ लागेर मृत्यु हुनेमा रुपन्देही, नवलपरासी, बाग्लुङ, बाँके, पर्सा, धादिङ, कैलालीका एक-एक जना रहेका छन् । सर्पदंशबाट धनगढीका एक पुरुषको मृत्यु भएको प्राधिकरणले जनाएको छ । गत बैशाख १ देखि हालसम्म विपद्का घटनामा परी ९५ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये सबैभन्दा बढी चट्याङ लागेर ३७ जना, आगलागीमा परी १९ र जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । ती बाहेक अन्यले बाढी पहिरो, भारी वर्षा, हावाहुरीमा परेर ज्यान गुमाएका हुन् ।
यही अवधिमा ११ सय ५८ घरपरिवार प्रभावित हुँदा २०४ जना घाइते भएका छन् भने डुङ्गा पल्टिँदा बेपत्ता भएका एक जना अझै भेटिएका छैनन् । वैशाख १ गतेदेखि हालसम्म ९१ वटा विपद्का घटना हुँदा ५ करोड ६७ लाख ८८ हजार ५६० रुपैयाँ बराबरको क्षति भएको छ ।

0 Comments