कार्तिक २ ,रोल्पा । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रकम भुक्तानी गर्ने तयारी गरेको छ ।
सरकारले कोरोना बीमाको दायित्व स्वीकार गर्दै एक अर्ब रुपैयाँ निकासा गरेको थियो । त्यसमा बीमा कम्पनीहरु, नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिले ८१ करोड रुपैयाँ थप गरेर १ अर्ब ८१ करोड रुपैयाँ बराबरको दावी भुक्तानी तत्काल गर्न लागिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडलले बताउनुभयो ।
कुल १७ लाख ५८ हजार ३४३ जना बीमितले कारोना बीमा गरेका थिए । जसमध्ये १ लाख ६५ हजार ५९ जना बीमितबाट १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपैयाँ बराबरको दावी परेको थियो ।
अर्थमन्त्रालयले स्वीकृत गरेको कोरोना बीमा मार्गदर्शन अनुसार सुरुको ३ अर्ब ५० करोड रुपैयाँसम्मको दावी भुक्तानी बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिले गर्ने उल्लेख छ । त्यसपछि बाँकी रहने दायित्व भने नेपाल सरकारले व्यहोर्ने उल्लेख छ । सोही अनुसार बीमा कम्पनीहरुले ३ अर्ब ५० करोडसम्मको दावी भुक्तानी गरेर पनि थप १ अर्ब ४८ करोड १४ लाख ८८ हजार २३५ रुपैयाँ बराबरको दावी भुक्तानी बीमा कम्पनीले गरेको थिए । तर, नेपाल सरकारले कोरोना बीमा वापतको रकम निकासा नगर्दा बीमा कम्पनीले दावी भुक्तानी रोकेका थिए ।
बीमा कम्पनीहरुले साढे ३ अर्ब भन्दा माथि भुक्तानी गरिसकेको करिब डेढ अर्ब सहित नेपाल सरकारले कुल १२ अर्ब ३४ करोड २५ लाख ३५ हजार ६७० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।
जसमध्ये १ अर्ब रुपैयाँ सरकारले निकास गरेसँगै उक्त रकमलाई ५५ प्रतिशत मानेर बीमा कम्पनीहरु, नेपाल पुनर्बीमा कम्पनी र समितिले ८१ करोड थप गरि १ अर्ब ८१ करोड रुपैयाँ बराबरको कोरोना बीमाको दावी भुक्तानी गर्न लागिएको पौडेलले बताउनुभयो ।
कारोना बीमितलाई भुक्तानी गर्न बाँकी रहेको १० अर्ब ८४ करोड ६ लाख ८३ हजार ३१९ रुपैयाँ मध्ये एक अर्ब ८१ करोड रूपैयाँको भुक्तानी गर्ने तयारी भएको पौडेलले बताउनुभयो ।
४५ प्रतिशत मध्ये निर्जीवन बीमा कम्पनीहरुले २५ प्रतिशत, पुनर्बीमा कम्पनीले १२ प्रतिशत र बीमा समितिले बाँकी रहेको आठ प्रतिशत रकम व्यहोर्नेछ । समितिले भुक्तानी माग्न आउने ग्राहकको पीसीआर टेस्टको मिति अनुसार पुरानोलाई प्राथमिकता दिएर रकम दिने योजना बनाएको भएपनि यसमा अर्थ मन्त्रालयको स्वीकृति पर्खिरहेको समितिले जनाएको छ ।