आर.एन नेपाली नेटवर्क, १० असार । रोल्पाको गंगादेव गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ करोड ५८ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष अमृता कुमारी केसीले चालु तथा पूँजीगत खर्चसहितको बजेट प्रस्तुत गरेकी हुन।
उपाध्यक्ष केसीका अनुसार चालु खर्चतर्फ ३४ करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ। चालु खर्च अन्तर्गत संघीय सरकारबाट प्राप्त सशर्त अनुदान तथा संघ र प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँडलाई समावेश गरिएको छ भने पूँजीगत खर्चतर्फ ११ करोड ९० लाख ९६ हजार रुपैयाँको अनुमान गरिएको छ। पूँजीगततर्फ समानीकरण, विशेष र समपूरक अनुदानका साथै गाउँपालिकाको आन्तरिक आय समेत स्रोतका रूपमा समावेश गरेको बताइएको छ।
गंगादेव गाउँपालिकाको असार ९ र १० गते को १९ औं गाउँ सभाले नीति तथा कार्यक्रम र उक्त बजेट सर्व सम्मत पारित गरेको हो । असार ९ गते आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सभामा पेश गरि सोहि दिन पारित गरेको थियो भने आज १० गते बजेट सभामा पेश गरि आजै परित गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।