कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

कार्तिक १,रोल्पा । नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।

संयोजकसहित ७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्य समेत रहेका नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

बैठकमा समितिका सदस्यहरुले सबै क्षेत्रमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फको मत घट्न सक्ने उल्लेख गर्दै त्यसमा विशेष ध्यान दिएर निर्वाचन परिचालनको काम गर्नुपर्ने सुझाव दिएका थिए । त्यसैगरी बैठकमा पार्टीको चुनावी घोषणा पत्र आएपछि त्यसको प्रचारको कामलाई प्रभावकारी बनाउन पनि लागि गर्ने धारणा समितिका सदस्यहरुबाट आएको नेता ढुंगानाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय निर्वाचन परिचालन समिति छ । त्यही समितिको बैठक बसेको हो । त्यो बैठकमा करिव २१ जनाले आ–आफ्ना सुझावहरु दिनु भयो । त्यही सुझावको आधारमा काम गर्छौं । खासगरी ७ वटै प्रदेशमा संयोजक तोक्नुपर्ने सुझाव छ । त्यसपछि परिचालनका लागि मेनेफेष्टको कुरा छ । त्यसपछि विभिन्न निर्वाचन क्षेत्र भित्र कसरी काम गर्ने भन्ने छ । त्यस्तै नेपाली काँग्रेस अहिले गठबन्धनमा छ । गठबन्धनको परिस्थितिमा हामीले ९१ सिट मात्रै पाएका छौं । त्यसले गर्दा समानुपातिकमा भोट घटन सक्छ । त्यसलाई कसरी म्यानेज गर्ने ? यी सब कुराहरुमा छलफल गरियो । अव जति पनि सुझावहरु आएका छन । ती सबै सुझावहरूलाई समेटेर यस समितिको कामलाई व्यवस्थापन गर्छौं ।’

पार्टीको आन्तरिक निर्वाचन परिचालनको कामलाई प्रभावकारी बनाउनका लागि नेता गोपालमान श्रेष्ठ नेतृत्वमा कांग्रेसले ११० सदस्यीय केन्द्रिय निर्वाचन परिचालन समिति गठन गरेको छ । सत्तारुढ गठबन्धनले यस अघिनै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन परिचालन समितिको संयोजक तोकिसकेको छ ।

Previous Post Next Post