राेल्पा । पूर्वी नवलपरासी (नवलपुर)को बुलिङटार गाउँपालिकाको मथारमा भएको बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ ।
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आज बिहान ३ बजेतिर पूर्वी नवलपरासीको बुलिङटार–२ मथारमा दुर्घटनामा परेको थियो ।
मृत्यु हुनेमा पाल्पाको रम्भादेवी गाउँपालिका–१ की ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जाको गल्यान गाउँपालिका–९ बेलचौरकी ४५ वर्षीय जुलमाया माझी रहेका घटनास्थल मै रहनुभएका पाल्पाको रम्भा गाउँपालिका–१ का वडाअध्यक्ष इश्वर काफ्ले जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । २९ जना यात्रु लिएर गएको बस सडकबाट करिब एक सय मिटर तल खसेको छ । रामपुर–काठमाडौँ चल्ने उक्त बस मथारमा आइपुग्दा अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २४ जनालाई उद्धार गरी अस्पतालतर्फ पठाइएको छ ।