राेल्पा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले गोरखाबाट चुनाव जित्ने सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ । गाेरखा क्षेत्र नम्बर २ का जनतामा उत्साह छाएकाले आफूले त्यहाँबाट चुनाव जित्नेमा कुनै दुविधा नरहेको उहाँकाे भनाइ थियो ।
आज सोमवार काठमाण्डाैमा आयोजित पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले गोरखाली जनता, त्यहाँको स्थानीय पार्टी कमिटी, बुद्धिजीवी र गठबन्धनका नेताहरूको आग्रहमा मात्रै आफूले त्यहाँबाट चुनाव लड्ने निर्णय लिएको बताउनुभयाे । चुनाव हारिन्छ कि भनेर आफूले गोरखामा पुगेर उम्मेदवारी नदिएको उहाँले पटक–पटक उल्लेख गर्नुभयाे । जनयुद्ध र जनक्रान्तिको सम्पूर्ण तयारी गोरखाबाट भएकाले आर्थिक समृद्धिको अभियान पनि त्यही ठाउँबाट अघि बढाउन सकिन्छ भन्ने विश्वास पनि आफूले लिएको उहाँले बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘म कहाँ सुरक्षित र कहाँ असुरक्षित भनेर निर्वाचन क्षेत्रमा जाने गरेको छैन । म रोल्पा र काठमाण्डाैमा चुनाव लड्दै गर्दा जनयुद्ध र जनआन्दोलनका भावनाहरूलाई एकताबद्ध गर्ने ऐतिहासिक उद्देश्यमा आधारित भएर त्यहाँबाट चुनाव लडेको थिएँ । चुनाव जित्नका लागि मात्रै त्यहाँबाट लडेको थिइन । मधेस, पहाड र हिमालमा कहीँ न कहीँ विद्वेष फैलिन्छ भन्ने देखिएपछि मधेस गएको थिए सिरहामा । त्यसो गर्नुको मेरो उद्देश्य चुनाव जित्नुमात्रै थिएन । मेरो उद्देश्य मधेस, पहाड र हिमाललाई एकताबद्ध गर्नुथियो । जनताको अपेक्षाअनुसार चितवन पनि गएँ । र अहिले गोरखाबाट चुनाव लड्दै छु । म हिजो र अस्ति गाेरखामा दुई दिनसम्म ४४ वटा भेटघाट कार्यक्रममा गएँ । जनतामा निकै ठूलो उत्साह देखेको छु । निर्वाचन परिणाम त जनताको उत्साह देखेपछि त्यो सुनिश्चित छ भन्ने कुरामा कसैको दुविधा नै छैन ।’
अध्यक्ष प्रचण्डले सत्तारूढ गठबन्धन कायमै रहने पनि बताउनुभयो । संविधानमाथि घात हुने र त्यसलाई उल्ट्याउने षडयन्त्र भएसम्म यो गठबन्धन टिकिरहने उहाँको जिकिर थियो । सत्तारूढ गठबन्धनको मुख्य एजेन्डा भनेको आर्थिक विकासलाई गतिदिने रहेको उहाँले बताउनुभयाे ।