सरकार निर्माणमा गठबन्धन दलभित्र रस्साकस्सी, पहिलो चरणमै प्रधानमन्त्री को बन्ने भन्नेमा अन्योल

राेल्पा । सत्तागठबन्धन दल सरकार निर्माणको दौडमा रहेको छ । पाँचदलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएका दलहरुको आफ्नै बहुमत भने पुग्न सकेन । अन्तिम मतपरिणाम हेर्दा प्रत्यक्ष र समानुपातिक जोडेर गठबन्धको १३६ जना सांसद पुग्ने देखिन्छ तर सरकार निर्माणका लागि जम्मा १३८ जना सांसदको आवश्यकता पर्दछ । सत्तागठबन्धनलाई जनमत पार्टीले साथ दिने बताइसकेको छ भने जनता समाजवादी पार्टी पनि सरकारमा जान इच्छुक देखिएको छ । यसरी हेर्दा धेरै दलहरुको सहभागितामा सरकार बन्ने परिस्थिति देखिन्छ ।


अहिले देखिएको चित्रले मात्रै सरकार निर्माण हुन्छ भन्नेमा ढुक्क बन्न सकिन्न किनकी कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीमै प्रधानमन्त्रीका आकांक्षी देखिएका छन् । कांग्रेसभित्र शेरबहादुर देउवा, रामचन्द्र पौडेल र गगन थापा प्रधानमन्त्रीका दाबेदार छन्, भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि मौका ताकेर बसेको देखिन्छ । माओवादी र कांग्रेसबीच कस्तो सहमति बन्छ त्यसले आगामी सरकारको मार्गचित्र स्पष्ट पार्नेछ । नेपाली कांग्रेसभित्र पनि प्रधानमन्त्रीका आकांक्षी धेरै रहेकोले नयाँ नेतृत्व स्थापित गर्नुपर्ने बहस शुरु भएको छ । कांग्रेसका घटनाक्रमका विषयमा विश्लेषण गर्दै आउनुभएका शंकर तिवारीका अनुसार अब कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक छ ।

मुलुकमा स्थायी सरकार, विकास र आर्थिक उन्नतीको सपना बोकेका मतदाताहरुले हरेक पटक यस्तै समस्या झेल्दै आउनुपरेको छ । निर्वाचनको परिणामले कसैको पनि बहुमत नपुग्ने देखिएपछि थप अराजकता निम्तिने खतरा उत्तिकै छ । सरकार बनाउने र ढाल्ने खेल शुरु भएपछि न त विकास हुन्छ न समृद्धि । नेकपा एमाले प्रतिपक्षमा बस्ने गरी तयारी गरिरहेको छ । यद्यपि उसको आवश्यकता भएको खण्डमा सरकारमा जान पनि तयार रहेको पूर्व कानूनमन्त्री एवम् एमाले नेता शेरबहादुर तामाङको दाबी छ ।

जनताले गठबन्धन दललाई नै सरकार बनाउन म्याण्डेड दिएको त पाइन्छ तर अधुरै । पाँचदल मिल्दा पनि सरकार गठन हुने परिस्थिति नबन्दा यसले अस्थिरता निम्त्याउने खतरा छ । आज मात्रै प्रचण्ड, रामचन्द्र पौडेल, माधवकुमार नेपालको पनि भेटवार्ता भएको छ । भेटमा सबैले आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको बुझिएको छ । सरकार बन्ने तीन विकल्प मध्ये दोस्रो विकल्प एकभन्दा बढी दल मिलेर बहुमत पुगेपछि सरकार निर्माण हुने संविधानविद् डा. भीमार्जुन आचार्य बताउनुहुन्छ ।

यसपटक स्थायी सरकार बन्न सकेन भने पुनः मुलुक दुर्घटनामा जाने खतरा रहेको छ । राजनीतिक दलहरुप्रति देखिएको वितृष्णा २०८४ सालको निर्वाचनमा छताछुल्ल हुने देखिन्छ । सम्भवतः सबै राजनीतिक दलहरु विकास र समृद्धिको मार्गमा एकजुट हुन जरुरी छ ।

Post a Comment

0 Comments