राेल्पा । प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
उधौली पर्वका अवसरमा शुभकामना दिँदै उहाँले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
किराँत समुदायमा जाडो मौसम सुरु भएछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ।
यस पर्वका अवसरमा किराँत समुदायका मूलतः राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्ने गरिन्छ। उधौली पर्वका अवसरमा परम्परागत वेषभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिकरूपमा साकेला नृत्य गर्ने प्रचलनसमेत रहेको छ।
प्रधानमन्त्री देउवाले विभिन्न जातजाति र समुदायको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न अहम भूमिका निभाएको उल्लेख गर्नुभयो ।

0 Comments