राेल्पा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार(आज) निर्वाचन आयोगले सार्वजनिक गर्दै छ । शनिबार दलहरूले नामावली टुंगो लगाएर आयोगमा बुझाएका थिए ।
प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा सात दलले मात्र सिट प्राप्त गर्ने मतको संख्या (थ्रेसहोल्ड) कटाएका थिए । ती दलले शनिबार निर्वाचित हुने सांसदको सूची आयोगमा बुझाएका हुन् ।
राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी आयोगले आज समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गर्न लागेको हो ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा संघीय संसद्मा समानुपातिकतर्फ एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले पाँच÷पाँच सिट प्राप्त गरेका थिए ।
निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरू पनि निर्वाचित भएको एक हप्ताभित्र निर्वाचनसम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने जनाएको छ ।
यसैबीच, निर्वाचन आयोगले दलहरूले बुझाएको समानुपातिक सांसदको सूचीमा त्रुटि भेटिएको भन्दै सच्याएर आज अपराह्नसम्म पठाउन भनेको छ ।
दलहरूले बुझाएको सूचीमा प्रतिनिधिसभातर्फ त्रुटि नभेटिएको आयोगका सहायक प्रवक्ता समेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभातर्फ भने दलहरूले सूची सच्याउनुपर्नेछ । गण्डकी र कर्णालीबाहेक अरू प्रदेशमा दलहरूले बुझाएको सूचीमा त्रुटि भेटिएको उहाँले बताउनुभयो ।

0 Comments