काठमाडौं । रौतहटको गौरमा भएको नरसंहारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । हत्याकाण्डको जाहेरी दर्ताको माग गर्दै आइतबार(आज) सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । त्रिभुवन साह सहितका निवेदकले दिएको रिट सर्वोच्चमा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।
२०६४ चैत २७ गते रौतहटको गौरमा तत्कालीन अवस्थामा मधेसी जनअधिकार फोरम र नेकपा माओवादीको कार्यक्रम एकै स्थानको नजिक–नजिक आयोजना हुँदा ‘गौर हत्याकाण्ड’ भएको थियो । घट्नामा माओवादीका २७ जनालाई बाँसको भाटा र भाला रोपेर हत्या गरिएको बताइन्छ ।
सर्वोच्चका प्रवक्ता पौडेलका अनुसार रिटको सुनुवाइका लागि जेठ २२ गते पेशीसमेत तोकिएको छ । जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरी मुद्दाको अनुसन्धान अगाडि बढाउनु पर्ने माग गर्दै रिट दर्ता भएको हो ।
२०६३ चैत ७ गते नेकपा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताबीच गौरमा झडप हुँदा २७ जनाको मृत्यु भएको थियो । घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादव, पूर्वसभासद् बबन सिंह, प्रदेशसभा सांसद बाबुलाल साहलगायत १ सय १३ जनाको नाम जोडिएको छ। झडपमा २७ वाईसीएल कार्यकर्ताको मृत्यु भयो भने ५३ जना गम्भीर घाइते भएका थिए ।
केही दिनअगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत गौर हत्याकाण्ड र २०५८ जेठ १९ को दरबार हत्याकाण्डको छानबिन हुने बताउनुभएको थियो ।

0 Comments