नेपालकाे एक इन्च जमिन पनि अतिक्रमण हुन नदिन सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री

काठमाण्डाै । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) संसद् भवनमा नेपाली भूमि समेटिएको नक्सा राखिएको सम्बन्धमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नेपाली राजदूतावासलाई निर्देशन दिएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा मन्त्री साउदले त्याे नक्साकाे विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीमा रहेकाे नेपाली राजदूतलाई निर्देशन दिइसकेको बताउनुभएको हो । उहाँले यसप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको भन्दै नक्साकाे विषय राजनीतिक विषय नभएको भनी भारतीय सरकारका विदेशमन्त्रीबाट आधिकारिक धारणासमेत आइसकेको बताउनुभयो । देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अन्तर्राष्ट्रिय सीमामा कुनै आँच आउन नदिन र नेपालको एक इन्च जमिन पनि अतिक्रमण हुन नदिन सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।


उहाँले भन्नुभयो, ‘भारतकाे नयाँ संसद् भवनमा राखिएको नक्साकाे सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण भएको छ । त्याे नक्शाकाे क्याप्शनमा सम्राट अशोकको समयमा उनको साम्राज्यको फैलावट जनाइएको भनी लेखिएको र त्याे राजनीतिक विषय नभएको भनी भारतीय सरकारका विदेशमन्त्रीबाट आधिकारिक धारणा आइसकेको व्यहोरा सम्मानित सदनलाई अवगत नै छ । यस विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीमा रहेका नेपाली राजदूतलाई निर्देशन दिइसकिएको छ ।’

मन्त्री साउदले भारतीय चलचित्र 'आदिपुरुष' मा सीताको बारेमा प्रयोग भएको संवादमा 'फ्याक्चुअल इरर' देखिएको भन्दै यस्तो हुनु उचित नभएको बताउनुभयो । उहाँले सीता नेपालकी छोरी भएको तथ्य सर्वमान्य भएको र भारतमा समेत यो विषय निर्विवाद भएको उल्लेख गर्नुभयो । 

मन्त्री साउदले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको कुरामा सरकार दृढ रहेको बताउनुभयो । उहाँले यस विषयमा देशमा राष्ट्रिय सहमति नै रहेको बताउँदै भारतसँग भएका सीमा समस्याकाे समाधान स्थापित कुटनीतिक संयन्त्रमार्फत गरिने बताउनुभयो । 

उहाँले नेपालले केही मित्रराष्ट्रहरूसँग विगतमा गरेका समझदारीअनुसार परम्परागतरूपमा त्यहाँको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकोमाबाहेक विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको कुनै नीति नभएको स्पष्ट पार्नुभयो ।

Post a Comment

0 Comments