कांग्रेस र एमालेले सरकार बनाउने भन्ने सुनेको छु : शशांक कोइराला

काठमाण्डाै । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भए पनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताउनुभएको छ ।

सोमवार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै नेता काेइरालाले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताउनुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने जिकिर गर्नुभयाे । उहाँले १५ औँ महाधिवेशनपछि मात्रै कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्छ भन्ने कुराको टुङ्गो लाग्ने बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘सम्भवतः नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भन्ने कुरा सुनेको छु, तर पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेर कुरा गरेपछि थाहा हुन्छ । १५ औँ महाधिवेशनपछि मात्रै कांग्रेसबाट कसले सरकारको नेतृत्व गर्ने भन्ने कुरा आउँछ । त्यो भन्दाअघि देउवाबाहेक अरू सम्भव लाग्दैन ।’

नेता काेइरालाले सभापतिमा आफू उठ्नुअघि पार्टीका कार्यकर्ताको आग्रहलाई सुन्ने पनि बताउनुभयो ।

Post a Comment

0 Comments