यस वर्ष बर्खामा फाेहर व्यवस्थापनमा समस्या हुँदैन : काठमाण्डाै महानगर

काठमाण्डाै । समयमै बाटो मर्मत गरेकोले यस वर्ष बर्खाकाे समयमा काठमाण्डाै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने भएको छ ।

यसअघि बर्खायाममा काठमाण्डाैदेखि बञ्चरेडाँडासम्म जाने विभिन्न ठाउँको बाटो बिग्रँदा समस्या हुने गरेको थियो । यस वर्ष भने बाटो मर्मत भइसकेकाले यसअघिको जसरी समस्या नआउने काठमाण्डाै महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले जानकारी दिनुभयो । साना समस्या आए पनि यसअघि झैँ एक महिनासम्म फोहर नउठ्ने समस्या नहुने उहाँले बताउनुभयो ।


काठमाण्डौ महानगरले सिसडोलदेखि बञ्चरेडाँडासम्मको झन्डै दुई किलोमिटर सडक मर्मतको काम गरिसकेको छ । विगत १६ वर्षदेखि उपत्यकाको फोहर व्यवस्थापन गरिएको ठाउँ सिसडोलमा अहिले पनि फोहरको पहाड छ । त्यही फोहर पार गरी फोहरको गाडी बञ्चरेडाँडा जानुपर्ने बाध्यता छ । पानी पर्न थालेपछि सिसडोलको फोहर कुहिने गर्छ, बर्खाकाे समयमा सिसडोलको फोहरमाथि बनेको सडकमा गाडी फस्ने समस्या थियो । यस वर्ष त्यो समस्या समाधान भएको हो ।

काठमाण्डौ उपत्यकाका १८ वटा पालिकामा सङ्कलन हुने फोहोर बञ्चरेडाँडामा लगिने गरेको छ । उपत्यकाबाट एक दिनमा झन्डै एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा लगिने गरेको छ ।

Post a Comment

0 Comments