मकवानपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने बताउनुभएकाे छ ।
११० औँ बीपी जयन्तीको अवसरमा आज आइतवार हेटौँडा–११ काे नवलपुरमा बीपीको शालिक अनावरण गर्न हेटौँडा आएका कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताउनुभएकाे हाे ।
काेइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अराजक हुँदै गएको आरोप लगाउँदै सरकार फेर्नुपर्ने बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डकै कारण धरानमा जातीय द्वन्द्व भएको उहाँकाे टिप्पणी छ । उहाँले भन्नुभयाे, ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौँ भनेर भन्नुभयो । सुर्खेतमा गएर एक/दुई महिनाभित्र डेढ/दुई लाख जना मानिस सडकमा उतार्छाैँ भन्नुभयाे ।’
नेता कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छाैँ र जातीय राज्य बनाउँछौँ भन्दै हिँड्दा धरानमा घटना घटन पुगेकाे दाेहाेर्याउनुभयाे । ‘धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो’, उहाँले भन्नुभयाे ।
कांग्रेस सबैभन्दा ठूलो दल भएकाले स्वभाविकरूपमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने उहाँको भनाइ थियो । काेइरालाले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताउनुभयाे ।

0 Comments