काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाँदै हुनुहुन्छ ।
इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उहाँ मङ्सिर २३ मा कतार जान लाग्नुभएको हो ।
यसअघि मंसिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।
त्यसअघि मंसिर ७ गते (बिहीबार) उहाँले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गर्नुभएको थियो ।
परराष्ट्र मन्त्री साउदले आज (बुधवार) गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गर्नुभएको छ ।
कतार बसाइँका क्रममा उहाँ दोहा २१ औँ फोरममा पनि सहभागी हुनुहुनेछ । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।

0 Comments