आज साउने संक्रान्ति पर्व, लुतो फाल्ने दिन

आर.एन नेटवर्क, साउन १ रोल्पा । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व, देशभर मनाइँदै छ ।

सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने संक्रान्‍तिका रुपमा मनाउने गरिन्छ । 

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन सुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । 

साउने संक्रान्तिका दिनदेखि हिन्दु धर्मसँग सम्बन्धित पर्वहरु सुरु भएकाे विश्वास गरिन्छ । हिन्दु धर्मालम्बीहरूले स्नान, दान, होम, श्राद्धजस्ता धार्मिक कामको सुरूअ‌ात साउने संक्रान्तिबाट नै हुने गर्छ । 

साउने संक्रान्तिकाे दिन साँझ लुताे फालिन्छ । हिलाेकाे महिना भनेर समेत चिनिने असार महिनामा नेपाली किसान खेत बारीमा व्यस्त हुन्छन‍् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग नलागाेस‍्  भनेर लुतो फाल्ने प्रचलन छ ।

परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ-आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तसँग बसेर रमाइलो गरेर संक्रान्ति मनाउँने प्रचलन छ । साउने संक्रान्तिकाे अवसरमा देवघाट, रिडी लगायत देशका विभिन्‍न ठाउँमा मेला लाग्ने गर्छ ।

साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर ख्वाउने प्रचलन समेत छ । नेपालको आर्थिक वर्ष साउन १ गते सुरु हुन्छ ।

आज औँसी तिथि र सोमबार एकै दिन परेको छ । आज सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन् ।

Post a Comment

0 Comments