उपत्यकामा आजदेखि थप कडाइ, के–के गर्न पाइँदैन ?

राजेश नेपाली नेटवर्क, २८ पौष  । काठमाडौँ उपत्यकामा आजदेखि २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका हुन् । त्यस्तै राजनीतिक दलका सभा–सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ ।



तीन वटै जिल्लाका सीडीओको मंगलबार बसेको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी विभिन्न प्रतिबन्धात्मक घोषणा गरेको हो । २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाउँदै १८ बुँदे आदेश पनि जारी गरिएको छ ।

आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ । राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भनिएको छ ।

सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न पनि भनिएको छ । यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । साथै, उद्योग व्यवसायहरुमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको छ ।

अत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन सकिने प्रशासनले भनेको छ । माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यसमेत गरिएको छ । यसमा मोबाइलमा फोटोमात्रै भए पनि हुने प्रशासनले भनेको छ ।

Post a Comment

0 Comments