राजेश नेपाली नेटवर्क,३० जेष्ठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता विशाल भट्टराईले अहिलेको पाँचदलीय गठबन्धन मुलुकका लागि घातक रहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भन्नुभयो, ‘एकले अर्कोसँग द्वन्द गर्ने, कस्ले बढि लुटी खाने भन्ने उदेश्य बोकेको यो गठबन्धनले देश बनाउँदैन, देश निर्माणको काम पाँच वर्ष ठप्प हुन्छ, यसकारण पनि गठबन्धन मुलुकका लागि घातक हुने भएकाले भत्किनै पर्छ भन्ने नेकपा एमालेको बुझाइ हो ।’
गठबन्धनबाट देश बन्दैन यसलाई भत्काउनपर्छ अनिमात्रै देश निर्माणको काम, विकाशको काम र सम्वृद्धिको यात्रा अघि बढ्छ भनेर जनतालाई एमालेले बुझाउन चाहेको नेता भट्टराईको भनाइ छ ।
अहिलेको गठबन्धनले देशमा बोझ बाहेक केहि नभएको पनि नेता भट्टराईको आरोप छ ।
नेता भट्टाईले भन्नुभयो, ‘मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्, अहिले हेर्दा दिनानुदिन देश उधोगतीतर्फ गइरहेको छ, अर्थतन्त्रको क्षेत्र चौपट अवस्थामा छ, सुचकांकहरु कुनै सकारात्मक छैनन् । यस्तो अवस्थामा देश दुनियाले यो गठबन्धनले कुनै काममा विकाश र सम्वृद्धितर्फ अगाडि बढ्न सकेन त्यसैले अब गठबन्धनबाट नभएर एउटा बलियो राष्ट्रिय शक्तीको माध्यमबाट देश निर्माण गर्नुपर्छ भन्ने एमालेको ठम्म्याई हो र यहि एजेण्डालाई लिएर हामी अगाडि बढ्छौँ’ ।
यस्तै आज एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ। बैठक दिउँसो १ बजे एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने नेता भट्टराईले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको समीक्षा गर्ने र आगामी संघ र प्रदेशको निर्वाचनको तयारीलगायत समसामयिक विषयमा छलफल हुने नेता भट्टराईले बताउनुभयो ।
एमालेले चुनाव भएका ७५२ पालिकामध्ये २०५ पालिकामा प्रमुख जितेको थियो। बैठकमा गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण तथा समसामयिक विषय पनि बैठकको छलफलका विषय छन्।
साथै, एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट आजकै सचिवालयको बैठकमा पेस गरिनेछ।

0 Comments