राजेश नेपाली नेटवर्क,२३ आषाढ । सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोना भाइरसविरुद्धको १० लाख डोज भन्दा बढी खोप खेर जाने अवस्थामा पुगेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको तथ्याङ्क अनुसार साउनको पहिलो साता कोभिसिल्डको १० लाख ७९ मात्रा खोपको म्याद गुज्रिँदै छ ।
सरकारले कोभ्याक्स सुविधामार्फत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त गरेको थियो । समयमा लगाउन नसक्दा सोही खोपमध्येको १० लाख भन्दा बढी खोप म्याद गुज्रिएर खेर जान लागेको हो ।
ती खोपको अवधि अब करिब १५ दिन भए पनि खोप अभियान सुस्त भएकाले धेरैजसो खोप प्रयोगमा नआउने आपूर्ति व्यवस्थापन महाशाखाका एक कर्मचारीले बताएका छन् ।
साउनको पहिलो हप्तासम्म ती खोप प्रयोग गरिसक्न दैनिक ७१ हजार २६६ जनाले खोप लगाउनुपर्छ । जबकि अहिले कोभिसिल्ड खोप लगाउनेको दैनिक संख्या दुईदेखि तीन हजारसम्म मात्र छ । खोप लगाउने दर घटिरहेकाले अब यो खोप खपत हुनेमा महाशाखाका अधिकारीहरु विश्वस्त छैनन् ।
हाल देशका अधिकांश क्षेत्रमा कोरोना भाइरसको खोप स्थानीय तहमार्फत लगाइएको छ । धेरैले पहिलो र दोस्रो चरणको खोप लगाएको र बुस्टरमा कोभिशिल्ड भन्दा अन्य खोप नै रोजाइमा रहेकाले यसको खपत हुन नसकेको हो । हाल अधिकांश मानिसले बुस्टर डोजका रुपमा फाइजर खोप लगाइरहेका छन् । वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार हालसम्म १८ बर्षभन्दा माथिका ३२ प्रतिशत मानिसले बुस्टर डोज पाएका छन् ।
यसैबिच विभागको तथ्याङ्क अनुसार मोडेर्नाको पनि ६७ हजार वटा खोप अर्थात् ६ हजार ७०० भाइल खोप पनि खेर गएको छ । धेरै स्थानीय तहबाट विवरण आउन बाँकी भएकाले खेर गएको मोडेर्ना खोपको संख्या अझै बढ्न सक्ने थापाले बताएका छन् ।

0 Comments