राेल्पा । आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।
आज बिहान मिथिला क्षेत्रमा ६ बजेर १४ मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको छ । मिथिलामा सूर्योदयको टुङ्गो मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिन्छ । तर, मिथिला क्षेत्रमा आज बिहान मौसम सफा भएको हुँदा छठका व्रतालुले झलमल्ल पारिलो घाम झुल्केको देखेपछि अर्घ्य दिएर पर्व सम्पन्न गरेका हुन् । यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरी रहेका थिए ।
आज बिहान अर्घ्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी व्रतालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने÷खुवाउने क्रम सुरु भएको छ ।
सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
केही दशकअघि मिथिला क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनेको छ । मुलुकको राजधानी काठमाडौं, गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न ठाउँमा केही वर्षयता उल्लासमय छठ मनाइँदै आइएको छ ।