तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश जारी

राेल्पा । ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो । मेडिकल काउन्सिलको सदस्य रहेकी डा. तोसिमा कार्कीको लाभको पदमा रहेको पाइएको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

तर, नियमित तलब भत्ता नलिने भएको कारण उक्त पद लाभको पद नरहेको जिकिर गर्दै कार्कीले सोमबार सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएकी थिइन् ।

मंगलबार पेसीमा चढेको उक्त रिटमा न्यायाधीश चुडालको इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चको आदेशसँगै कार्कीको उम्मेदवारी तत्कालका लागि कायम भएको छ ।

अब दुई न्यायाधीश रहने संयुक्त इजलासमा यस मुद्दाको सुनुवाइ हुनेछ । विपक्षीहरुले उम्मेदवारी कायम नरहने तथ्य र प्रमाण पेस गर्न सकेमा उनको अन्तरिम आदेशको निरन्तरता नरहन सक्नेछ भने दुई न्यायाधीशको इजलासले समेत अन्तरिम आदेशको निरन्तरता हुने आदेश गरेमा उनी चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाउनेछिन् ।

Previous Post Next Post