काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले केन्द्रिय समिति बैठकपछि सभापति शेर बहादुर देउवा अझैं बलियो हुने बताउनुभएको छ । यहि साउन २ गतेदेखि जारी केन्द्रिय कार्यसमितिको बैठक आज सम्पन्न हुँदै छ । बैठक पहिलो दिनदेखि नै सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण भइरहेको छ जसकारण सभापति देउवाको प्रशंसा समेत भइरहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पूर्व स्वास्थ्यराज्यमन्त्री समेत रहनुभएका श्रेष्ठले देशभर, पार्टी, संसदीय दल र सामाजिक सञ्जाल सबैतिर सभापति देउवाको राम्रो पकड भएको बताउँदै अहिलेको समय सामाजिक सञ्जालकै भएकाले प्रत्यक्ष प्रशारणपछि झन् देउवाको पकड देखिएको दाबी गर्नुभयो ।
पार्टीभित्र फुट भयो, कमजोरी धेरै छन् र देउवालाई संसदीय दलको नेताबाट हटाउन खोजिदैँछ भन्ने यी सबै हल्ला मित्थ्या मात्रै भएको नेता श्रेष्ठले स्पष्ट पार्नुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवा आगामी दिनमा झन् बलियो भएर अगाडि बढ्ने पनि नेता श्रेष्ठको भनाइ रहेको छ ।
यस्तै महामन्त्री गगन थापाले देउवालाई संसदीय दलबाट हटाउन पर्छ भने पनि यो असम्भव हुने श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार महामन्त्री थापाले प्रयत्न त गर्नुहोला तर तत्काल हटाउने कुरा असम्भव देखिएको छ ।
यस्तै अहिलेको अवस्थामा महामन्त्री थापाले सभापतिलाई सघाएर, आफ्नो भूमिका बढाएर, अझैं अहिलेको भन्दा राम्रो छाप बनाएर र एकवद्ध भएर कांग्रेसलाई कसरी राम्रो बनाउने भन्ने नीतिका साथ अघि बढ्दा राम्रो हुने नेता श्रेष्ठको भनाइ रहको छ । www.nepalinetwork.com

0 Comments