रोम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताउनुभयो ।
आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको उहाँले बताउनुभयो ।
जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उहाँले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको बताउनुभयो । “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ”, प्रधानमन्त्री भन्नुभयो “सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।”
नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरीतर सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताउनुभयो । ‘शरणार्थी प्रकरणमा राष्ट्रहित विपरीतको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो,’ उहाँले भन्नुभयो ।

0 Comments