काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधनसहित संसदबाट पारित नगरको भए नेपालको हात तल पर्ने दाबी गर्नुभएको छ ।
एकीकृत समाजवादीले काठमाडौंले सोमबार गरेको कार्यक्रममा उहाँले आफ्नो अडानका कारण एमसीसी सम्झौता संशोधन भएको जिकिर गर्नुभएको हो ।
कार्यक्रममा नेपालले पूर्व प्रधानमन्त्री झलनाथ खनालप्रति इंगित गर्दै एमसीसीको गीत गाएर पार्टी कमजोर बनाउने र अमेरिकाको स्वार्थ संरक्षण गरेको आरोप लगाउनुभयो ।‘केही केही मान्छेको गीत नै के छ भने एमसीसीलाई अस्वीकार गर्नुपर्थ्यो । त्यो गरेर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनको स्वार्थको रक्षा हुने, विदेशीको हालीमुहाली चल्दा तमासा हेरेर बस्ने, अनि जनताले हामीलाई वाहा वाहा क्रान्तिकारी भनेर साथ दिने थिए भनेर हवाई कल्पना गरेर मात्र केही हुने थिएन’, खनालप्रति आक्षेप लगाउँदै नेपालले भन्नुभयो, ‘हामी सबैलाई थाहा छ । एमसीसीको घोर विरोध गरेको नेपाल मजदुर किसान पार्टी वाही वाहीको शिकार हुन्थ्यो भने अहिले देशभर फैलिसक्थ्यो । मोहनविक्रमजीको पार्टीलाई भोटै भोट खसालेर १०० सिट दिने थिए ।’
एमसीसीलाई लिएर नेकपा एसभित्र झलनाथ खनाल कडा रूपमा प्रस्तुत हुनुभएको छ। उहाँले एमसीसीलाई आइपीएसको अंग भएको भन्दै कुनै हालतमा सम्झौता लागू गर्न नहुने चेतावनी दिँदै आउनुभएको छ ।
0 Comments