मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधको स्वरूप फेरिदैँ

काठमाण्डौ । आज मानव बेचबिखनविरुद्धको १७ औँ राष्ट्रिय दिवस । 

‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण : मानव बेचबिखनको निर्मूलन’ भन्ने नाराका साथ चेतनामुलक कार्यक्रम गरी मनाइँदैछ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६४ सालदेखि नेपालले यो दिवस मनाउन थालिएको हो ।

महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि सन् २००२ लाई २०६३ साल भदौको २० गते तत्कालीन व्यवस्थापिका सांसदबाट अनुमोदन गरिएको थियो ।

त्यही दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि हरेक वर्ष भदौ २० गते मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन शुरु गरिएको हो । 

मानव बेचबिखन तथा ओसारपसार बहुआयामिक, बहुक्षेत्रगत एवम् विश्वव्यापी समस्या बनेको छ ।

कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याइ, डरत्रास देखाइ कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत जबरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचबिखन भनिन्छ ।

सङ्गठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधको स्वरूप परिवर्तन हुँदै गएको सरोकारवालाले बताएका छन् ।

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कानुनलाई एकीकृत कानुनको आवश्यक रहेको महिला अधिकारकर्मी चरिमाया तामाङले बताउनुभयो । 

पछिल्लो समयमा नेपाल–भारतको खुल्ला सिमानामा साथै त्रिभुवन विमानस्थलबाट पनि मानव बेचबिखन तथा ओसारपसारका गतिविधि भइरहेको उहाँको भनाइ छ ।

महिला बेचबिखन हुन नदिन चेतनामूलक कार्यक्रम तथा बेचबिखनमा परेकालाई उद्धार गर्न विभिन्न पुनर्स्थापना केन्द्रको स्थापना गरी काम हुँदै आएको सरकारले जनाएको छ ।

Post a Comment

0 Comments