काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ।
शुक्रबार(आज) बसेको सुनुवाइ समितिको बैठकले सर्वसम्मत रुपमा शर्माको नाम सर्वोच्चको न्यायाधीशका लागि अनुमोदन गरेको हो। संसदीय सुनुवाइबाट अनुमोदन भएका शर्मालाई अब राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नुहुने छ। शर्माले प्रधानन्यायाधीशबाट शपथ लिनुहुने छ।
यसअघि गरेको सिफारिसमा कुनै निर्णय नभएपछि न्याय परिषद्ले दोस्रो पटक उहाँको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो। उक्त सूचनापछि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ सुरू गरिएको हो।
ओखलढुङ्गा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। गत वर्ष भदौमा पनि उहाँको नाम सिफारिस भएको थियो। त्यतिबेला संसदीय सुनुवाइ समितिमा पत्र आएपछि रोकिएको थियो।
तत्कालीन समयमा शर्मासहित ३ जनाको नाम सिफारिस भएको थियो। तर पछिल्लो पटक शर्माको नाम मात्र सिफारिस भएको थियो। उहाँ करिब १ वर्ष सर्वोच्चमा कार्यरत हुनुहुने छ भने प्रधानन्यायाधीश हुनुहुने छैन।
आज संसदीय सुनुवाइ समितिमा आफ्नो एजेन्डा र कार्यपत्र पेस गर्दै उहाँले आम नागरिकबाट अपेक्षा गरिएको न्याय प्राप्त गर्नका लागि आफूले सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । आफू न्याय सम्पादनमा रहँदा इमानदार भएर न्याय सम्पादनको प्रयास गर्ने पनि शर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो।
कुनै न्यायाधीशलाई उसको आचरण र व्यवहारले ‘वास्तविक न्यायाधीश’ बनाउने बताउँदै उहाँले आफू त्यसको दायरमा रहने बताउनुभयो। शर्माले तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति आफ्नो पूर्ण प्रतिबद्धतासमेत रहेको बताउनुभयो।
न्यायपालिका प्रतिको निष्ठा र आस्था न्यायाधीशको आचरण र व्यवहारबाट प्रदर्शित हुने विषय भएको भन्दै उहाँले स्वतन्त्र न्यायपालिकाको अवधारणाको आलोकमा तयार भएको मिलान घोषणापत्र अनुकूल हुने गरी तयार भएको न्यायाधीशहरूको आचारसंहिताद्वारा निर्देशित रही स्वच्छ, सक्षम, निष्पक्ष, तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति आफू पूर्ण प्रतिबद्ध रहने बताउनुभयो।

0 Comments