आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

काठमाडौं । सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ ।

भाद्र कृष्ण कुसे औंसीमा बाबुको सम्मान गरिने परम्परा छ । यस दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृ दिवस, गोर्कण औंसी, कुसेऔंसी पनि भनिन्छ । आमापछिको द्वितीय गुरुका रूपमा पितालाई शास्त्रले वर्णन गरेको छ । महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पितालाई संरक्षण, रक्षा र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ ।

औसीका दिन आफूलाई कर्म दिने मुख हेर्न छोराछोरी बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । बुबालाई भेट्दा आफ्नो क्षमताअनुसार मिठाई, लड्डु तथा विभिन्न खाद्यपदार्थ खुवाउने चलन छ ।

पिता जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउँछन् । लुगाफाटो तथा विविध उपहार दिएर पितालाई खुसी बनाउँछन् । विवाहित महिलाले माइतमा गएर बुबाबाट आर्शिवाद लिने चलन छ ।

काठमाण्डौको गोकर्णमा बिहानैदेखि श्राद्ध तथा तर्पण गर्नेको घुइँचो छ । उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेवथानमा श्राद्ध गरी पिण्डदान गर्नाले मातृकूल, पितृकूल, बन्धु–ससुराली कूलादि सय कूलको उद्धार हुने धार्मिक विश्वास रहिआएको छ ।

Post a Comment

0 Comments