आर.एन नेटवर्क, भदौ ११ रोल्पा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणमा भित्रिएका करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन ।
अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रूपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको एक करोड ३० लाख रुपैयाँ बजेटको योजना कार्यान्वयन नभएको हो ।
अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले तातोपानी कुण्ड छेउमा रहेको बेनी–जोमसोम–कोरला सडकको नक्साङन टुङ्गो लगाउन भएको ढिलाइका कारण पर्यटकीय पूर्वाधार निर्माणका लागि भित्रिएको बजेट र योजना कार्यान्वयन गर्न नसकिएको बताउनुभयो ।
![]() |
तस्बिर : रासस |
भुरुङ–तातोपानी पूर्वाधार निर्माण शीर्षकमा आर्थिक वर्ष २०७९/८० मा ८० लाख र २०८०/८१ मा प्राप्त भएको ५० लाख रुपैयाँ बजेट कार्यान्वयन नभएको हो । तर सङ्घीय सरकारले यसपालि भुरुङ तातोपानीको पूर्वाधार योजनाका लागि बजेट र योजना कटौती गरेको छ ।
जमिनभित्रको मुहानबाट झन्डै ५० डिग्री तापक्रममा निस्कने प्राकृतिक तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धारामा स्नान गर्न सकिने भुरुङ–तातोपानी पूर्वाधार अभावमा व्यवस्थित बन्न सकेको छैन ।

0 Comments