आर.एन नेटवर्क, भदौ १६ रोल्पा । रोल्पामा राहदानी लिने महिलाको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाबाट बितेको चार वर्षमा महिलाले लिएको राहदानीको तथ्यांकले पछिल्लो अवस्थामा राहदानी लिने महिलाको संख्या बढेको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालय रोल्पाबाट आर्थिक वर्ष २०७७/०७८ मा एक हजार तीन सय ५७ जनाले राहदानी लिएका थिए । तीमध्ये दुई सय ५८ जना महिला थिए । आर्थिक वर्ष २०७८/०७९ मा तीन हजार चार सय ४१ जनाले राहदानी लिएकामा छ सय ९१ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा सात हजार चार सय ७१ जनाले राहदानी लिएका थिए । जसमा पाँच हजार नौ सय ५९ पुरुष र एक हजार पाँच सय १२ महिलाले राहदानी लिएको पाइएको छ । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा पाँच हजार दुई सय २७ जनाले राहदानी लिएकामा एक हजार दुई सय २७ जना महिला छन् ।
राहदानी लिएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । उनीहरु प्रायः घरेलु कामदारको रुपमा विदेश जाने गर्दछन् । उनीहरुको मुख्य गन्तव्य मलेसिया हुने गरेको छ । यसरी वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश महिलाहरु जोखिमपूर्ण काममा लगाइन्छन् । तलव कम र जोखिम बढी हुने काममा महिलाहरुलाई प्रयोग गरिने भए पनि वैदेशिक रोजगारीमा जानुपूर्व यहाँका महिलाहरुमा सीप विकास तालिमप्रति आकर्षण देखिदैन । वैदेशिक रोजगारीमा जान चाहाने युवालाई लक्षित गरी उच्च माग भएका क्षेत्रमा वैदेशिक रोजगार बोर्डको सचिवालयबाट निःशुल्क सीप विकास तालिमको व्यवस्था मिलाउँदै आएको छ । साथै सुरक्षित आप्रवासन परियोजनाले पनि आवासीय रुपमा सीप विकास तालिमको व्यवस्था गर्दै आएको छ ।
यस्तो तालिम लिने रोल्पाली महिलाको संख्या भने अति न्यून छ । यो तालिमका लागि आव २०७७/०७८ मा रोल्पाबाट १९ जनाले आवेदन दिएकोमा महिला एकजना मात्रै थिइन् । आर्थिक वर्ष २०७८/०७९ मा १६ जनाले आवेदन दिएकोमा महिला दुईजना थिए । वैदेशिक रोजगारीमा जानेहरुका लागि यो तालिम निकै महत्वपूर्ण रहे पनि महिला श्रमिकहरुले भने तालिम नलिएको सुरक्षित आप्रवासन सेवा रोल्पाका प्रमुख शुकलाल घर्ती मगरले बताउनुभयो । क्षमता वा सीप विकास गरेर विदेश गए तलव पनि बढी हुने र जोखिम पनि कम हुने भए पनि रोल्पाबाट वैदेशिक रोजगारीमा जाने महिला पुरुषहरुमा तालिमप्रति आकर्षण नभएको घर्ती मगरले बताउनुभयो । तालिम कम्तिमा एक महिनाको हुन्छ ।
पुरुषका लागि ११ र महिलाका लागि दुई प्रकारका तालिम दिने गरिन्छ । तालिम काठमाडौं, बुटवल, पोखरा, धनुषा, झापालगायतका जिल्लामा हुने भएकाले तालिमस्थल अपायक परेको भन्दै अधिकांश त्यता जान मान्दैनन् । वैदेशिक रोजगारीमा जानेहरुका लागि परामर्श सेवा दिन जिल्ला प्रशासन कार्यालय रोल्पामा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । हेल्भेटासको सहयोगमा स्थानीय गैरसरकारी संस्था विकास सरोकार समाज रोल्पाले जिल्ला प्रशासन कार्यालय रोल्पासँग समन्वय गरी उक्त स्रोत केन्द्र स्थापना गरेको हो । स्रोत केन्द्रले विभिन्न परामर्श सेवा दिने गरेको छ ।
स्रोत केन्द्रमा विभिन्न उजुरी पनि आउने गरेको स्रोत केन्द्रका सहजकर्ता स्मृति रोकाले जानकारी दिनुभयो । स्रोत केन्द्रमा मृतकको शव ढुवानी, मृत्यु, काम र तलव फरक परेको, बेपत्तालाई खोजतलास गरिदिने, स्वदेशमै ठगी भएको, विरामीको समयमा कम्पनीले हेरविचार, खानपान र तलव नदिएको जस्ता उजुरी पर्ने गरेको रोका मगरको भनाइ छ ।
0 Comments