राजेश नेपाली नेटवर्क,२५ जेष्ठ । नेकपा (एमाले) की सांसद पद्मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध लगाइएको महाअभियोग टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभएको छ ।
आज बुधवार प्रतिनिधि सभा बैठकमा सहभागी हुन नयाँ बानेश्वरका रहेकाे संसद् भवनमा पुग्नुभएकी सांसद अर्यालले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावलाई टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभएको हो ।
संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि छलफल नगरिकन राखिरहनु नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महाअभियोग लगाइसकेपछि कानुनतः, संविधानतः जे व्यवस्था छ, त्याे प्रक्रिया त पूरा गर्नुपर्याे नि । त्यसैले संसदबाट ल्याएर छलफल गरेर जे टुङ्गो गर्ने हो गर्नुपर्छ । महाअभियोग लगाउने अनि त्यसलाई संसदमा ल्याएर छलफल नगरिकन त्यत्तिकै पेन्डिङ गरेर बसिरहने कुरा हुन्छ र ? कि दर्ता गर्न हुन्थेन । यो महाअभियोग पास गर्नका निम्ति ल्याइएको होइन भनेर हामीले त्यति बेला नै भनेका थियाैँ ।’
सांसद अर्यालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग निश्चित उद्देश्य पूरा गर्नका निम्ति ल्याइएको पनि बताउनुभयो ।

0 Comments