राजेश नेपाली नेटवर्क,३० श्रावण । निर्वाचनको सीट बाँडफाँटका लागि गठित सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दैछ । बैठक दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।
कार्यदलको बैठक यसअघि बिहीबार बसेको थियो । त्यसदिन भागबण्डाको मापदण्डमा छलफल भएपनि बैठक निष्कर्षमा पुगेको थिएन ।मंसिर ४ का लागि सीट बाँडफाँट गर्दा २०७४ सालको संसदीय चुनावको मतलाई आधार मान्ने कि हालै सम्पन्न स्थानीय चुनावको नतिजालाई आधार मान्ने भन्नेमा गठबन्धन दलबीच मतान्तर देखिएको छ ।
हालैको स्थानीय तह निर्वाचनको मतलाई मुख्य आधार बनाउनुपर्ने कांग्रेसको धारणा छ भने नेकपा माओवादी केन्द्र र नेकपा एसले स्थानीय चुनावको ‘डाटा’ को विश्वसनीयता प्रश्न उठाएका छन् ।
कार्यदलका सदस्य माओवादी नेता देव गुरुङले २०७४ सालमा भएको चुनावमा जुन दलले प्रत्यक्षतर्फ जति सीट जितेका छन् ती कायम राखेर एमालेले जितेका सीट बाँडफाँट हुने बताउनु भएको थियो। सदनमा उपस्थितिको आधारमा, समानुपातिक मतलगायतयलाई सहमतिको मोडालिटी बनाइने उहाँको भनाइ थियो ।
तर, कांग्रेसले भने स्थानीय चुनावलाई मुख्य आधार बनाउन खोजेको छ । आज यसबारे टुंगो लाग्ने बताइएपनि सम्भावना न्यून रहेको एक नेताले बताएका छन् ।
भदौको पहिलो सातासम्ममा सीट बाँडफाँटसम्बन्धी सबै काम सक्ने भनिएपनि मापदण्डमा मतभेदका कारण भागबण्डा पेचिलो बनेको छ ।

0 Comments