गठबन्धनले आजदेखि संयुक्त नेता–कार्यकर्ता भेला सुरु गर्दै

 कार्तिक ४, रोल्पा । सत्ता गठबन्धनले आजदेखि संयुक्त नेता–कार्यकर्ता भेला सुरु गर्दैछ । यसअघि सातवटै प्रदेशमा नेता–कार्यकर्ता भेला गर्ने निर्णय गरेको सत्ता गठबन्धनले आज पहिलो भेला गण्डकी र लुम्बिनीमा गर्दैछ ।

आगामी निर्वाचनमा तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका गठबन्धनका दलले चुनावलाई नै लक्षित गरेर सात वटै प्रदेशमा संयुक्त रुपमा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेका थिए ।

नेकपा एकीकृत समाजवादीको समन्वयमा आज गण्डकी प्रदेशको पोखरामा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा नेता–कार्यकर्ता भेला हुँदैछ । भेलालाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

भोलि ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुनेछ । अन्तिम भेला ७ गते माओवादीको समन्वयमा काठमाण्डौमा हुनेछ ।

निर्वाचन आयोगले कात्तिक १८ गते भन्दा अगाडि राजनीतिक दलहरुले चुनाव प्रचारको लागि कोणसभा र आमसभा भने गर्न नपाउने बताएको छ । चुनाव आउन अब ३० दिन मात्रै बाँकी छ ।

Previous Post Next Post