राेल्पा । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समयसीमा सकिनै लाग्दा सत्तारुढ गठबन्धनका नेताहरू नयाँ सरकार गठनबारे ‘औपचारिक’ छलफलमा जुटेका छन् । केन्द्रमा प्रधानमन्त्रीसहित महत्त्वपूर्ण पद र प्रदेश सरकारमा ‘प्याकेज’मा सहमति गर्नेगरी गठबन्धनका शीर्ष नेताहरूबीच छलफल सुरु भएको हो ।
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य (सांसद)हरूले शपथ लिएको दिन हिजो गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भएको छ ।
हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो । हिजोको भेटमा सकारात्मक छलफल भएपनि कुनै निष्कर्ष निस्किन नसकेको नेपाली कांग्रेसका एक नेताले जानकारी दिनुभयो ।
हिजो भएको तीन नेताको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग गरेका बताइएको छ । हिजो साँझ बालुवाटारमा भएको छलफलमा प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग राख्नुभएको हो ।
स्रोतका अनुसार नेताहरू सरकार गठनका लागि प्याकेजमै सहमति हुनुपर्नेमा सहमत छन् । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको विषयमा प्याकेजमा सहमति गरेर अघि बढ्ने तीन नेताबीच सहमति भएको छ ।
नेताहरूबीच आज पनि भेटवार्ता हुने बताइएको छ । नेताहरूले आइतबार सम्ममा सहमतिमा पुगिने बताउँदै आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समयसीमा आइतबार सकिँदै छ ।
सता गठबन्धनका नेताहरूले सांसदको शपथ र दलको नेता चयन भएपछि नयाँ प्रधानमन्त्रीका बारेमा छलफल हुने बताउँदै आएका थिए । बुधबारमात्रै कांग्रेसले पनि संसदीय दलको नेता चयन गरिसकेको छ भने भने हिजो सांसदहरूको पनि शपथ भएको छ । हिजो नै माओवादी केन्द्रले पनि पार्टी अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।

0 Comments