काठमाडौं । सेवा सुरक्षा ग्यारेन्टीको मागसहित आन्दोलन गर्दै आएका नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठ, जुम्लाका धन बहादुर महत लगायतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किँदै गर्दा बीच सडकमा बस्न खोजेपछि प्रहरीले उनीहरूमाथि हस्तक्षेप गरेको हो । त्यही क्रममा सडकमै बसेर आवागमन अवरुद्ध गर्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आन्दोलनकारीहरूले पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेको छ । आन्दोलनकारीको तर्फबाट एक विज्ञप्ति जारी गर्दै उनीहरूले निसर्त रिहा गर्न माग गरेका हुन् । परिषद्का महासचिव शान्तिनाथ योगीले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको बताउनुभयो । गिरफ्तार गरेकाहरूलाई तत्काल रिहा र माग सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने उहाँको चेतावनी छ । ३५ हजार भन्दा बढीको संख्यामा रहेको लेखापाल र कार्यालय सहयोगीहरूले लामो समयदेखि सेवा सुरक्षा ग्यारेन्टीको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

0 Comments