कुटनीतिक मामिलाकाविज्ञ शनिल नेपाल पोर्चुगलको राजदूतमा सिफारिस

 काठमाडौं । कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा सक्रिय नेपाली कांग्रेसका युवा नेता शनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस हुनुभएको छ ।

राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशीता, सञ्चारलगायतका विषयमा विज्ञका रुपमा काम गर्दै आउनुभएका नेपालले विभिन्न योजना र नीति निर्माणसँगै रणनीतिक योगदान गर्दै हुनुहुन्थ्यो ।

उहाँले कांग्रेसमा संसद, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रुपमा परामर्श दिने गर्नुभएको थियो । उहाँले दर्जनौ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसक्नुभएको छ ।

पाल्पामा जन्मेका नेपाल बाल्यकालदेखि नै कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वदायी भूमिकामा रहनुभएको थियो। विद्यालयमा नेविसंघको अध्यक्ष हुँदै सुरु भएको उहाँको नेविसंघ यात्रा त्रिभुवन विश्वविद्यालय कीर्तिपूर केन्द्रीय क्याम्पसको अध्यक्षसम्म पुगेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाटै मानविकी संकाय तर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपालले कानुन शास्त्रका समेत विद्यार्थी हुनुहुन्छ ।

युरोपेली मुलुक मध्ये सबैभन्दा धेरै नेपाली रहेको पोर्चुगलमा नेपाली दूतावास नहुँदा समस्या भएको भन्दै त्यहाँस्थित नेपालीले तत्काल दूतावास स्थापना गर्न दवाव दिँदै आएका थिए ।

मन्त्रीपरिषद्को यो निर्णयले पोर्चुगलमा रहेका नेपालीले खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । पोर्चुगलमा ६० हजार भन्दा बढी नेपाली रहेको बताइएको छ ।

Post a Comment

0 Comments