राजेश नेपाली नेटवर्क, १० जेष्ठ । पोखरा महानगरपालिकामा मतगणना रोकिएको सात घण्टापछि फेरि सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकमा गणना बाँकी रहेका तीन वडाको मतगणना सुरु गर्ने सहमति भएको हो । बेलुकी ७ बजेर २० मिनेटदेखि पोखरा वडा नम्बर २२, ३२ र ३३ को मतगणना सुरु भएको छ ।
पोखरा–१८ मा नाै मत हराएको भन्दै मङ्गलवार दिउँसो १२ बजेदेखि नेकपा एमाले रोकेको थियो । त्यसमा कानुनअनुसार प्रक्रिया अगाडि बढाउने र अरू वडाको मतगणना नरोक्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताउनुभयाे ।
पोखरा–१८ मा खसेको मतभन्दा गणना भएको मत ९ कम थियो । त्यसपछि एमालेले मतगणना भइरहेका वडाका प्रतिनिधिलाई मतगणनास्थलमा नजान भनेको थियो ।
त्यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कलबहादुर थापा कांग्रेसका शिव तिमिल्सिनासँग तीन मतले पराजित हुनुभएकाे थियाे ।