कास्की । 'सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ' भन्ने नारासहित पोखरामा आज बुधवारदेखि २४ औँ सडक महोत्सव सुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँ वर्षको स्वागतमा विगत २३ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ ।
लेकसाइडको हल्लनचोकबाट सुरु भएकाे विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली कोमागाने पार्क पुगेपछि सडक महाेत्सव औपचारिकरूपमा सुरु भएको हाे । महोत्सवको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभयाे ।
पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको झन्डै तीन किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी मेला आयोजना गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनुभयाे ।
खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सांस्कृतिक तथा विभिन्न कार्यक्रम सञ्चालन हुने छ । महोत्सवलाई लक्षित गरी लेकसाइड क्षेत्रलाई दुलही झैँ सिँगारिएको छ । महाेत्सव पुस १७ गतेसम्म सञ्चालन हुने छ । महोत्सव सञ्चालन हुने सडकका दायाँ–बायाँ रङ्गरोगन गर्नुका साथै ध्वजा पताका टाँगिएकाे छ ।
महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खानेकुरा, लत्ताकपडा, बाल उद्यान मुख्य आकर्षण रहेका छन् । पाँच दिने सडक महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत सांस्कृतिक कार्यक्रमका प्रस्तुत हुने छ । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुने छ ।
0 Comments